राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन
- माघ २२, २०७९
- 0
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा कांग्रस केन्द्रीय सदस्य सुनिलबहादुर थापाले जानकारी दिए ।
जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गरेका थिए । उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नरमा नियुक्त भएका थिए।
उनी गभर्नर भएसँगै नेपालबाट भारुको चलन विस्थापित गर्न सफल भएका थिए। उनको पालामा निर्धारण गरिएको भारुको विनिमय दर भारु १०० को १६० रुपैयाँ अहिले पनि कायम छ।
उनले जागिरबाट अवकाश लिएपछि व्यवसायमा हात हालेका थिए । गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग, काल्सवर्ग वियर उनैले नेपाल भित्र्याएका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक खोलेका थिए । बैंकसँगै हिमालयन डिस्टिलरी पनि उनैले स्थापना गरेका थिए।