काठमाडौं / सुनौलोबजार नेवारपानी समाज, काठमाडौंले धादिङ्ग क्षेत्र नं २ बाट प्रतिनिधिसभाबाट निर्वाचित भएका नेपाली काङ्ग्रेसका सांसद रामनाथ अधिकारीलाई अभिनन्दन तथा सम्मान गरेको छ ।
समाजका जेष्ठ सदस्य नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौंको स्युचाटारस्थित परिकार ब्याङ्क्वेटमा आज एक औपचारिक कार्यक्रम गरी अभिनन्दन तथा सम्मान गरेको हो ।

कार्यक्रमलाई संबोधन गर्दै नवनिर्वाचित सांसद रामनाथ अधिकारीले नेवारपानी समाजले आफूलाई गरेको अभिनन्दनले थप जिम्मेवारी बढेको महशुस भएको बताउँदै समाजले आफूलाई यहाँसम्म पु¥याउनका लागि एकदमै ठुलो साथ र सहयोग गरेको बताए ।

जिल्लाको विकासमा आफू कटिबद्ध भएर लाग्ने बताउँदै उनले जिल्लावासीको पिडा र अप्ठ्यारामा आफू हातमा हात साथमा साथ भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रमको सभापतित्व गर्दै समाजका अध्यक्ष रविन्द्र रिजालले नवनिर्वाचित सांसद अधिकारीलाई बधाई तथा शुभकामना दिए । उनले संस्थालाई बलियो बनाउन स्पष्ट विचार र योजनाका साथ नेतृत्व गर्ने जानकारी दिदै आगामी दिनहरुमा समाजमा आईपर्ने समस्याहरु समाधान गर्न नवनिर्वाचित सांसद अधिकारीको ध्यानाकार्षण गराए ।

त्यस्तै समाजका सचिव बैकुन्ठ दाहालले समाज स्थापना भएको ६ महिना नबित्दै नवनिर्वाचित सांसद अधिकारीलाई सम्मान गर्न पाउँदा एकदमै गौरवान्वित महशुस भएको बताए । सांसद अधिकारीको ध्यानकेन्द्रित गर्दै उनले अझै पनि जिल्ला ‘बत्तिमुनिको अध्याँरो’ भएको र जिल्लाको विकासका लागि एकदमै कटिबद्ध भएर लाग्न अनुरोध गरे ।

कार्यक्रममा सल्लाहकार शिवराज दाहाल, सल्लाहकार डा.बलदेव अघिकारी उपाध्यक्ष शिवराज अघिकारी, अतिथि भबनाथ अघिकारी र कोषाध्यक्ष कृष्णप्रसाद अघिकारीले सांसद अधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना भने जिल्लाको विकास र समृद्धिलाई प्राथमिकता दिएर काम गर्न समेत अनुरोध गरेका थिए । त्यस्तै कार्यक्रमको सन्चालन समाजका सदस्य दिनेश अघिकारीले गरेका थिए ।

कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा साधारण सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
सुनौलोबजार नेवारपानी धादिङ स्थाइ घरभइ राजधानी काठमाडौंलाई कर्मथलो बनाउँदै आएका सदस्यहरु एकजुट भई स्थापना गरेको यस संस्था ‘‘हाम्रो आत्मियता सामाजिक एकता’’ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै स्थापना भएको विशुद्ध सामाजिक संस्था हो । जिल्लाको विकास र समृद्धिका लागि स्थापनाकालदेखि नै लागिपरेको छ । साथै आगामी दिनहरुमा सम्पुर्ण जिल्लावासीहरु एकजुट भई समाज र राष्ट्रकै लागि सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता समाजको रहेको छ ।


