काठमाडौं/ लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आइ नेपाल अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ काठमाडौं रञ्जना, लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्स र लायन्स क्लब अफ काठमाडौं एभरेष्ट फ्लोरिडाको संयुक्त आयोजनामा जोयन्ट इन्डक्सन एन्ड इन्ष्टलेशन सेरेमोनी सम्पन्न भएको छ ।

काठमाडौंको नयाँबजारस्थित क्लासिक बफेट प्वाइन्टमा सम्पन्न उक्त कार्यक्रममा ड्रिष्ट्रिक ३२५ आइका ड्रिष्ट्रिक गभर्नर लायन रामबहादुर बसेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको पहिलो सत्रको सभापतित्व लायन्स क्लब अफ काठमाडौं रञ्जनाका लायन राजु कार्की र दोस्रो सत्रको सभापतित्व रञ्जना सिस्टर्सका प्रेसिडेन्ट लायन शशिभूमी श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका ड्रिष्ट्रिक ३२५ आइका ड्रिष्ट्रिक गभर्नर लायन रामबहादुर बसेलले तिनवटै क्लबहरुले एकदमै राम्रो काम गरेको बताउदै खुशी व्यक्त गरे । उनले लायन्स क्लब अफ काठमाडौं रञ्जनाले गौरव गर्न लायक धेरै उत्कृष्ट सामाजिक कामहरु गर्न सफल भएको र एभरेष्ट फ्लोरिडा नयाँ क्लब भएर पनि एजुकेशनका क्षेत्रमा एकदमै धेरै स्कलरसिपका कार्यहरु गरेको बताउँदै धन्यवाद व्यक्त गरेका थिए ।
रञ्जना सिस्टर्सले लायन बिना श्रेष्ठको कार्यकालमा एकदमै उत्कृष्ट कार्यहरु गरेको र त्यति धेरै कार्यहरु कमै क्लबहरुले मात्र गर्न सफल भएको डिष्ट्रिक गर्भनर बसेलले बताए । पाथिभरा मन्दिर जाने बाटोमा विश्राम स्थल निर्माण लगायतका ३–३ महिनामा रक्तदान जस्ता थुप्रै सामाजिक कार्यहरु गर्दै प्रेरणादायी क्लबको रुपमा स्थापित हुन सफल भएको भन्दै आफ्नो कार्यकालमा यति धेरै राम्रो काम गरेकोमा रञ्जना सिस्टर्सका चार्टर प्रेसिडेन्ट लायन बिना श्रेष्ठ लगायत कार्यसमितिलाई उनले बधाई तथा आभार प्रकट गरे ।

नयाँ कार्यसमितिहरुले पनि पुरानो कार्यसमितिले गरेका कामहरुलाई निरन्तरता दिदैं जान र आगामी दिनहरुमा सबैले आफ्नो क्लबलाई उत्कृष्ट साबित गर्दै लैजान डिष्ट्रिक गर्भनर बसेलले आग्रह गरे ।
कार्यक्रममा बोल्दै लायन्स क्लब काठमाडौं ड्रिष्ट्रिक ३२५ आइका फस्ट भाइस गर्भनर लायन चन्द्र कुमार केसीले तिनवटै क्लबहरुले आफ्नो कार्यकालमा एकदमै उत्कृष्ट काम गरेको र त्यसमा पनि रञ्जना सिस्टर्सले उदाहरणीय कामहरु गरेको र सबै क्लबहरुको लागि उदाहरण बन्न सफल भएको बताए ।
त्यस्तै लायन्स क्लब काठमाडौं ड्रिष्ट्रिक ३२५ आइका सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर लायन बिनोद ढुङ्गानाले सबै क्लबहरुले उत्कृष्ट कार्यहरु गरेको भन्दैै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

क्लबहरुको साथ र सहयोगमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउदै पास्ट डिष्ट्रिक गर्भनर तथा मल्टिपल डिष्ट्रिक रिलेशन एण्ड लायन्स इन्फ्रोमेशन चेयर पर्सन लायन इन्दु लम्सालले क्लबहरुले उदाहरणीय काम गरेकोमा धन्यवाद व्यक्त गरिन ।

लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्सका चार्टर प्रेसिडेन्ट लायन बिना श्रेष्ठले आफ्नो कार्यकालमा थुप्रै सामाजिक कार्यहरु गर्न सफल भएको र आगामी दिनहरुमा पनि क्लबलाई नमुना क्लबको रुपमा अघि बढाउन निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । आफू प्रेसिडेन्ट रहँदा विभिन्न कार्यक्रमहरु गरी क्लब स्पोन्सर गरेको, प्रत्येक ३–३ महिनामा ब्लड डोनेसन कार्यक्रम आयोजना गरेको, अनाथ आश्रम तथा वृद्ध आश्रममा खाद्यन्न तथा आर्थिक सहयोग, वृक्षरोपण, बाढी पहिरो पिडितलाई सहयोग, पाथिभरा मन्दिर जाने बाटोको ठूलो फेदिमा विश्राम स्थल निर्माण लगायतका थुप्रै सामाजिक कार्यहरु गर्न सफल भई सन् २०२१ मा ‘बेष्ट सर्भिस क्लब’ बन्न सफल भएको उनले बताइन ।

‘आई विलिभ इन टिम वर्क एण्ड वी क्यान टुगेदर’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै चार्टर प्रेसिडेन्ट लायन बिना श्रेष्ठले क्लबका कामहरु गर्न सहयोग गर्नुहुने सम्पुर्ण लायन दिदिबहिनीहरु, स्पोन्सर गर्नुहुने एलसीके रञ्जनाका विशिष्ट लिडर तथा लायनको बारेमा ज्ञान, प्रोत्साहन र हौसला दिने बिनय अग्रवाल, मुना थापा, विशिष्ट लिडरहरु र हरकदम सहयोग गर्ने श्रीमान् शैलेन्द्र श्रेष्ठ साथै क्लबको सेकेन्ड भाइस प्रेसिडेन्ट एलिशा श्रेष्ठ महत लगायतलाइ आभार प्रकट गरिन् ।
त्यस्तै रञ्जना सिस्टर्सका प्रेसिडेन्ट लायन शशिभूमि श्रेष्ठले भावी कार्ययोजना प्रस्तुत गर्दै ड्रिष्टिकले गर्ने प्रत्येक कार्यक्रममा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाइन ।

श्रेष्ठले प्रत्येक ३–३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्ने, मेघा हेल्थ क्याम्पको आयोजना गर्ने, प्रत्येक स्कुलमा गई विद्यार्थीहरुको आखाँ र दाँतको शिविर संचालन गर्ने, विद्यालयको भौतिक निर्माणमा सहयोग गर्ने, विद्यार्थीहरुलाई आवश्यक सामानहरु उपलब्ध गराउने, गाउँको स्कुलहरुमा पुस्तकालय खोल्ने, डोल्पाको एकजना गरिब बिद्यार्थीको लागि उच्च शिक्षासम्म अध्ययन गराउँने, सकेसम्म क्लबका सबै मेम्बरहरुलाई स्थायी मेम्बर बनाउने, महिलाहरुको लागि क्षमता वृद्धि गराउँने र सक्षम बनाउने कार्यहरु गर्ने, न्यानो कपडा वितरण, वृक्षरोपण तथा फोहोर व्यवस्थापनका लागि डस्पिन वितरण गर्ने तथा स्मारिका प्रकाशन गर्नेसमेत जानकारी दिइन ।

कार्यक्रममा लायन्स क्लबका पास्ट प्रेसिडेन्टहरुले आफ्नो कार्यकालमा गरेका प्रगति विवरणहरु प्रस्तुत गरेका थिए भने क्लबका नवनिर्वाचित प्रेसिडेन्टहरु एलसीके रञ्जनाका लायन पूर्णबहादुर कार्की, रञ्जना सिस्टर्सका लायन शशिभूमि श्रेष्ठ र एभरेष्ट फ्लोरिडाका लायन शरदकुमार शुन्दरले आगामी कार्ययोजना प्रस्तुत गर्दै क्लबलाई शसक्त रुपमा अघि बढाउन कटिबद्द भएर लाग्ने जानकारी दिए ।

ड्रिष्ट्रिक ३२५ आइका सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर लायन बिनोद ढुङ्गानाले नयाँ कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रमको अन्त्यमा पदस्थापना गरी ब्याज वितरणसमेत गरिएको थियो । कार्यक्रमको समापन रञ्जना सिस्टर्सका नवनिर्वाचित प्रेसिडेन्ट लायन शशिभूमि श्रेष्ठले गरेकी थिइन ।



































