नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्षसमेत रहेका दानबहादुर तामाङ दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त भएपछि संघले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
संघले मंगलबार आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी नवनियुक्त राजदूत तामाङलाई बधाई तथा शुभकामना दिएको हो । संघका संयोजक विमल ढकालसहित संघका पूर्वअध्यक्षहरु, अग्रज व्यवसायी तथा संघका पदाधिकारीले वैदेशिक रोजगार व्यवसायीहरुको तर्फबाट राजदूतजस्तो सम्मानीत पदका लागि तामाङलाई सरकारले नियुक्त गर्नु आम व्यवसायीप्रतिको सम्मान भएको बताएका छन् ।
संघका संयोजक विमल ढकालले आम व्यसायीहरुको तर्फबाट राजदूत तामाङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । उनले भने–‘ हाम्रा पूर्व अध्यक्षले व्यवसायीको नेतृत्व गरेर राज्यको कुटनितिक क्षेत्रमा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेर राजदूत भएर जानुभएको छ ।’ संघका संयोजक ढकालले व्यवसायी मन्त्री हुँदा खासै राम्रो म्यासेज गएन तर राजदूत हुँदा व्यवसायीका समस्यालाई बुझेर प्रस्तुत हुने विश्वास लिएको बताएका छन् ।

संघका पूर्व अध्यक्ष प्रेम कटुवालले मेनपावर व्यवसायीको योगदानको लामो इतिहास भइसक्दा पहिलो पटक राष्ट्रले नै सम्मान गरेर राजदूत बन्न सफल हुनु भएका संघका पूर्वअध्यक्षलाई बधाई दिए । उनले भने–‘ वैदेशिक रोजगारको क्षेत्र बद्नाम मात्र छैन, सम्मानित भएर इतिहास पनि रचेको छ र भोलिको दिनमा अन्य व्यवसायी साथीहरु पनि राज्यको नमुनाको रुपमा इतिहास रच्नुहुनेछ ।’

लामो समय वैदेशिक रोजगार व्यवसाय हुँदै वैकिङ तथा सामाजिक कार्यमा सक्रिय तामाङ्ग पछिल्लो समय राजनीतिमा लागेका थिए । राजनैतिक कोटाबाट राजदूत बनेका तामाङ राष्ट्रिय भलिवल संघका पूर्वअध्यक्ष समेत हुन् ।
वैदेशिक रोजगारका क्षेत्रमा देखिका बिकृति र समस्यालाई सामाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने नवनियुक्त राजदूत तामाङले प्रतिवद्धता जनाए । उनले भने–‘ बैदेशिक रोजगारलाई हेर्ने दृष्टिकोण अहिले पनि नेगेटिभ छ, अव सबै भएर यसलाई चिर्नुपर्छ ।’
राजदूत तामाङले बैदेशिक रोजगारीमा भएका समस्याहरुका बारेमा श्रममन्त्रीसँग छलफल गरेर अव्यवहारिक नियमहरु हटाउन अनुरोध गरिसकेको बताए । राजदूत तामाङले भने–‘व्यवसायीकालाई समस्या समाधान गर्न निरन्तर लाग्दै जान्छु र संघले गरेको सम्मानप्रति आभारी छु ।’
दक्षिण अफ्रिकाका १९ वटा देश हेर्ने जिम्मेवारीमा रहेका तामाङले नेपालसँगको सम्बन्ध बिस्तार र नेपालीहरुका लागि अवसर सृजना गर्ने कार्यमा अहोरात्र लाग्ने बताएका छन् ।



सो अवसरमा संघका पूर्वअध्यक्षहरु निर्मल गुरुङ, दिलप्रसाद पोखरेल, रोहन गुरुङलगायतले राजदूत तामाङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
स्पेनका लागि शर्मिला नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा डा. शर्मिला पराजुली ढकाललाई नियुक्त गरेकी छिन् । खाडी मुलुक ओमानमा सफल कार्यकाल सकेर फर्किएकी शर्मिला दोश्रो पटक स्पेनका लागि राजदूत बनेकी हुन् ।








