भारतका आवासीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन ।
बुधबार शीतल निवास पुगेर उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उक्त अवसरमा परराष्ट्र मन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।
राजदूत श्रीवास्तव असार ११ गते काठमाडौं आइपुगेका हुन । श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ हुन ।
यसअघि उनी भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।
श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन ।







