वामदेव गौतम नेतृत्वको ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामक नयाँ पार्टीको घोषणा भएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गौतमले देशका कम्युनिष्ट पार्टीको एकता गर्ने मुख्य उद्देश्यसहित पार्टी घोषणा गरेको बताए । आफ्नो साथमा दर्ता भएका चार, पाँच वटा र खाली रहेका अन्य दलको साथ, समर्थन रहेको भन्दै एकता अभियानमा यी सबै दलको संलग्नता रहेको बताए ।

निरंकुशताविरुद्ध कांग्रेससँग मिलेर संघर्ष गर्‍यौं। एमालेबाट संघर्ष सञ्चालन गर्दा म एमालेको प्रमुख हुने गर्दथेँ। त्यो परिवर्तनको जग हामीले हालेका हौं। म ७३ वर्षको मानिस, कति समय बाँच्छु। तर, त्यो आन्दोलन कम्युनिष्ट आन्दोलन धरासायी भइरहेको छ”, गौतमले भने ।

उनले गएको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्ति भएको र अब पनि कम्युनिष्ट पार्टीहरुले कार्यगत एकता गर्न नसके आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने बताए । त्यसपछि कांग्रेसलाई गठबन्धनको आवश्यकता नपर्ने भन्दै उनले त्यसका लागि अहिलेको स्थिति परिवर्तन हुनुपर्ने प्रष्ट पारे ।

सहकार्यले नै परिवर्तन भएको तर, अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) र स्टेट पार्टनरसीप परियोजना (एसपीपी) जस्ता सैन्य गठबन्धनका जोखिम बढेको उनले उल्लेख गरे । यसकारण, अबको तीन महिनासम्म कम्युनिष्ट पार्टी एकताका लागि गम्भीररुपमा प्रयत्न अगाडि बढाइने उनको भनाइ छ।

नेकपा एकता राष्ट्रिय एकताको यसअघि पनि बैठक बसेको भन्दै उनले कम्युनिष्ट पार्टीभित्र शत्रुतापूर्ण सम्बन्धबाट मित्रतापूर्ण सम्बन्ध निर्माण गर्ने मुख्य उद्देश्य रहेको पुनः दोहोर्‍याए ।

“आजभन्दा दुई वर्ष पहिले पार्टी खोलेनौं, नेकपा एकता राष्ट्रिय एकता सञ्चालन गर्‍यौं। पछि म र मेरा साथीहरुले के निष्कर्श निकाल्यौं भने, इतिहासलाई अगाडि बढाउने काममा शक्ति निर्माण गर्नुपर्छ। ठूला पार्टी एक ठाउँमा ल्याउन शक्ति आर्जन नगरी, व्यक्तिको प्रयत्नले मात्रै सफलता प्राप्त गर्न सकेनौं”, उनले भने।