नेकपा (एमाले)का पूर्व उपाध्यक्ष वामदेव गौतमले आज औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन ।

उनले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी घोाषणा गर्न लागेका हुन । अभियानको उनी हाल संयोजक रहेका छन भने उनी राष्ट्रिय सभाको सांसद पनि हुन ।

पार्टीका प्रसार विभाग प्रमुख निमकान्त पाण्डेले दिनुभएको जानकारी अनुसार, संयोजक गौतमले आज राजनीतिक दलको घोषणा गर्न लागेका हुन ।

नयाँ पार्टी निर्माणका लागि उनले असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला आयोजना गरेका थिए । त्यसमा निर्वाचन आयोगमा दर्ता भएका तीन राजनीतिक दलसहित पाँच अन्य दल पनि सहभागी थिए ।

आयोगमा दर्ता भएका दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी छन् भने आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह सहभागी थिए ।

सम्मेलनले ६९ सदस्यीय केन्द्रीय समितिको निर्माण गरेको छ । सोही बैठकले गरेका विभिन्न निर्णयलाई आज दिउँसो ३ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी प्रचार विभाग प्रमुख पाण्डेले दिए ।