अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपालको सहभागिताका विषयमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आज (आइतबार) बिहानको बैठकमा बोलाएकोमा प्रधानमन्त्री देउवा अनुपस्थित भएका हुन । उनको सचिवालयले प्रधानमन्त्री धनगढीमा रहेको भन्दै बैठकमा उपस्थित हुन नसक्ने बताएको समितिकी सभापति पबित्रा निरौला खरेलले बताइन ।
आफूले आइतबार बिहानभर पनि प्रधानमन्त्रीलाई फोन गरेर बैठकमा उपस्थित हुन भने पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै सभापति खरेलले प्रधानमन्त्री देउवाले संसदको अपमान गरेको आरोप लगाइन । समितिले गत शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग एसपीपीका विषयमा छलफल गरेको थियो ।
यसैबीच अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बालुवाटार पुगेका हुन् ।







