पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भत्किएको स्थानमा दुई पुरुषको शव फेला परेको छ।

जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले सडक भत्किएको मर्स्याङ्दी नदी किनारमा दुई शव फेला परेको जानकारी दिए। तर मृतक दुवैको सनाखत हुन नसकेको उनले बताए।

‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने देखिएको छ’ नेपालले भने। पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजी गरिरहेको छ।

गएरातिदेखि वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भत्किएको हो। यसका कारण राजमार्ग अवरुद्ध बनेको छ।

तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावत सम्भव नदेखिएको बताए।