निर्वाचन आयोगले गाउँ कार्यपालिका र नगर कार्यपालिका निर्वाचन सम्पन्न नभएसम्म जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट कुनै प्रशिक्षण कार्यक्रम नगर्न नगराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार आयोगको तर्फबाट विज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन ।
“निर्वाचनको कार्यक्रम शुरु भइसकेपछि कानूनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने र बीचमा रोक्न नमिल्ने भएकाले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचनलाई प्रभावित गर्नेगरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायतका कार्यक्रम आयोजना नगर्न नगराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा राजनीतिक दल एवम् अन्य सरोकारवालाहरुलाई आयोग हार्दिक आग्रह गर्दछ” विज्ञप्तीमा उल्लेख छ ।
जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि आफ्नो कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आयोगले आग्रह गरेको छ । केही दिन अघि नेकपा (माओवादी केन्द्र) ले पार्टीको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई काठमाडौंमा बोलाएर दुई दिने प्रशिक्षण प्रदान गरेको थियो । त्यस्तै, अन्य दलले पनि प्रशिक्षणको तयारी गरिरहेका छन ।







