आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् ।

कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

एक युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफूलाई ८ वर्ष अघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेपछि यो विषय राष्ट्रिय चासोको विषय बनेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज शनिबार एक विज्ञप्ति जारी गरेर यस्ता विषयमा शीघ्र छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार सधैँ प्रतिबद्ध रहेको बताएका थिए ।

भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।

शुक्रबार यो विषय संसद्‍मा समेत उठेको थियो । नेपाली काँग्रेसका सांसद् गगनकुमार थापाले यस विषयमा संसद्को ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले यससम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए ।