पार्टी अध्यक्ष केपी ओली पक्षभित्रका पनि दुई धारका नेताका कारण नेकपा एमाले कास्कीलाई पोखरा महानगरपालिकाको नगरप्रमुख छनोटमा समस्या भएको छ।

मेयर र उपमेयरमा आकांक्षी धेरै हुनु र ती आकांक्षीहरू पनि दुई धारका भएका कारण पार्टीभित्रको किचलोको मारमा एमाले परेको छ। किचलोकैबीच उम्मेदवार भने छनोट गर्नुपर्ने भएपछि शुक्रवारका लागि एमाले कास्कीले पार्टीभित्रै निर्वाचन गर्दै छ।

एमाले महानगर कमिटीले नगर प्रमुख र उपप्रमुख पदको सिफारिसका लागि निर्वाचन कमिटी गठन गरी निर्वाचन कार्य तालिका नै सार्वजनिक गरेर पार्टीको तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन लागेको हो।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सङ्गठन विभाग प्रमुख खगराज अधिकारीका दुई पक्षबीचको टकराब र प्रतिस्पर्धाका कारण उम्मेदवारका आकाङ्क्षीहरूले आफ्नो हठ नछाडेपछि निर्वाचनबाट उम्मेदवार टुङ्गो लगाउनुपर्ने अवस्था उत्पन्न भएको हो।

एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर वैशाख ३० गतेभित्रै उम्मेदवार टुङ्ग्याउन निर्देशन दिए पनि गण्डकीको एक मात्र महानगरपालिका तथा प्रदेशको राजधानी समेत रहेको पोखरामा एमालेभित्रै प्रतिस्पर्धा भएको हो।

निर्वाचनमा गुरुङ समूहको तर्फबाट एक नम्बरमा पुष्पज्योति ढुङ्गाना तथा अन्यमा मिनाकुमारी गुरुङ र दीपक पौडेललाई पोखराको नगर प्रमुखको उम्मेदवार बनाउन खोजिएको छ।

अधिकारीको प्यानलबाट वर्तमान प्रदेश सांसद कृष्ण बहादुर थापा तथा वडा नं १३ का अध्यक्ष दर्शन लामा र सावित्री भण्डारीलाई नगर प्रमुखको रूपमा रोजिएको छ।

महानगर कमिटीका एक सय १० जना सदस्यको मतदानका आधारमा उम्मेदवार सिफारिस सूची तयार हुने भएको छ। महानगर उपमेयरमा पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टीकाराम पङ्गेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरिसकेका छन्।

पार्टीभित्र आकाङ्क्षा व्यक्त गरेकाहरूले शुक्रबर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ। निर्वाचनका लागि बिहीबार साँझ मतदाताको नामावली प्रकाशन गरिएको छ। मतदाता नामावली उपर दाबी विरोध र सुधारका लागि बिहान ८ देखि ८ः१५ बजेसम्मको समय दिइएको छ।

मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारका लागि सूचना प्रकाशन शुक्रवार बिहान ८ः२० बजेसम्म, दाबी विरोध उपर छानबिन र निर्णय साढे ८ बजे तथा अन्तिम मतदाता नामावली प्रकाशन बिहान ८ः३० बजेलाई तोकिएको छ।

निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारको दरखास्त फारम वितरण ९ देखि ९ः१४ सम्म, उम्मेदवारको दरखास्त फाराम दर्ता ९ः१५ देखि १० बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन शुक्रवार बिहान १० बजे, उम्मेदवारको विरोधमा उजुरी दिने बिहान १०ः१५ देखि १०ः३० सम्म र उजुरी उपर छानबिन र निर्णय बिहान १०ः४५ बजेलाई तोकिएको छ।

त्यस्तै उम्मेदवारको नामावली पुन प्रकाशन बिहान १०ः४५ बजे, उम्मेदवारको नाम फिर्ता बिहान १०ः५० देखि ११ः१५ सम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रवारै बिहान ११ः१५ बजेसम्म र मतदान दिउसो १२ बजेदेखि १ बजेसम्मका लागि तय गरिएको निर्वाचन कमिटीले कार्य तालिका सार्वजनिक गरेको छ।

मतदानपछि मतगणना र परिणाम प्राप्त हुने बित्तिकै मत परिणाम घोषणा गरिने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए।