सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकले सातै प्रदेशको सांगठानिक अवस्थाको रिपोर्टिङ गर्न अनुगमन टोली गठन गरेको छ।
जसअनुरुप प्रदेश १ मा प्रमेश हमाल, मधेसमा जगन्नाथ खतिवडा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णाली प्रदेशमा डा वेदुराम भुषाल र सुदूरपश्चिममा रामचन्द्र झालाई अनुगमन टोलीको जिम्मेवारी दिइएको छ।
प्रचार विभागप्रमुख जगन्नाथ खतिवडाका अनुसार सातै टोलीले पार्टीको सांगठनिक अवस्थाको विवरण केन्द्रमा गर्नेछन् ।
चुनावी तयारी, गठबन्धन र आगामी केन्द्रीय कमिटी बैठक राख्ने सम्बन्धमा केन्द्रीय सचिवालय बैठकले स्थानीय चुनाव सम्बन्धमा ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ भन्ने नारा तय गरेको खतिवडाले जानकारी दिए ।
‘सोही नारा लिएर जनतामा जाने, अनुगमन टोलीले गाउँ, वडा, पालिका सबैको रिपोर्टिङ लिएर आउनेछ’, खतिवडाले भने । यससँगै चुनावमा गठबन्धनबारे भने केन्द्रीय कमिटीमा थप छलफल हुने उनले बताए। अहिले चुनाव प्रचारप्रसारको काम एकसाथ अगाडि बढाउने गरी मापदण्ड निर्माण भएको उनको भनाइ छ।








