ललितपुरको कोन्ज्यासुममा दुई दिने शिशुसहित एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले चार जनाको घटनास्थलमा र दुई दिनको शिशुको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान घरमै चार जना शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल पुग्याउँदा चिकित्सकले मृत्त घोषणा गरेका थिए । अर्का एक जनाको अस्पतालमा उपचार भइरहेको उनले बताए ।

घरैमा मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २३ वर्षीया सुष्मा स्याङ्तान, नौ वर्षीय आशिष स्याङ्तान र सात वर्षीया आश्मा स्याङ्तान रहेको एसएसपी पोखरेलले जानकारी दिए । त्यस्तै, २३ वर्षीय शुभ स्याङ्तानको पाटन अस्पतालमा उपचार भइरहेको छ ।