नेपाल एयरलाइन्सलाई साउदी अरबमा उडानको बाटो खुलेको छ ।
साउदी अरबको नागरिक उड्डयन सङ्गठन (जीएसीए)ले आइतबार नेपाल वायुसेवा निगमलाई उडानको औपचारिक स्वीकृति दिएको हो ।
अनुमतिअनुसार अबदेखि निगमका जहाजले साउदी अरबको रियाद, दमाम र जेददामा उडान भर्न पाउनेछन् ।
यससँगै निगमले आगामी अप्रिलदेखि नै काठमाडौँ–रियाद सातामा तीनवटा व्यावसायिक उडान गर्ने योजना बनाएको छ ।
व्यावसायिक उडानको अनुमति प्राप्त गर्ने कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थिति थियो ।








