प्रतिनिधि सभाको बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको छ ।
बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन सिफारिस समिति गठन गरेको हो ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटाले प्रस्तुत गरेको महाअभियोग सिफारिस समिति गठनको प्रस्ताव स्वीकृत भएको छ ।
महाअभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, डा शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल, नेपाली कांग्रेसबाट मिनबहादुर विक र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य रहेका छन ।
यस्तै बैठकमा एमाले सांसद मोहन बानियाँ बलात्कार अभियोगमा पक्राउ परेकोबारे सभालाई जानकारी दिइएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराएका थिए ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरेका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।








