नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएको भ्रम चिरेर संसदबाट पारित गरेको बताएका छन ।

काठमाडौंमा शुक्रबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राष्ट्रहितलाई तलमाथि हुन नदिइकन एमसीसी पारित गरेको बताए । उनले अमेरिकी सेना नेपाल आउने, आईपीएसको अंग हुने कि नहुने, कुनै गठबन्धन, सुरक्षा रणनीतिमा सामेल हुने कुरामा स्वीकार गर्न नसकिने उल्लेख गरे । ‘त्यही भ्रम चिर्न व्याख्यात्मक टिप्पणीमा उल्लेख गरिएको छ,’ उनको भनाइ छ ।

अध्यक्ष नेपालले प्रमुख विपक्षी एमालेले एमसीसीमाथि भ्रम चिर्ने कुनै काम नगरेको आरोपसमेत लगाए ।

प्रतिनिधि सभाबाट दुई दिनअघि एमसीसी सम्झौता पारित भएको थियो ।

एमसीसी पारित भएपछि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख विपक्षी एमालेले आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् ।

अध्यक्ष नेपालले आफूहरुलाई निमिट्यान्न पार्ने षड्यन्त्र असफल बनाइसकेको पनि बताए । फागुन १ गते आफ्नो पार्टी समाप्त पार्ने तयारी भएको जानकारी आफूहरुसँग रहेको बताए ।