सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ । यो आजै पारित हुने बताइएको छ ।
सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शंका रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
बैठकपछि पत्रकारसँग बोल्दै पौडेलले एमसीसी नेपालको संविधान अनुरुप लागू हुने पनि बताए । यो विशुद्ध विकास परियोजना भएको र अमेरिकाको सैन्य रणनीति नभएको उनको भनाइ छ ।
व्याख्यात्मक टिप्पणीमा यो इण्डोप्यासिफिक रणानीति अन्तर्गतको होइन र यो नेपालमा नेपालको संविधान नै सर्वोपरी हुन्छ र यसलाई विकास सहयोग हो भन्ने मात्र हामी बुझ्छौंं भन्ने कुरा समावेश गरी सो बारेको छलफल पछि एमसीसीको दस्तावेजसँग राखेर सरकारले पेश गर्ने र त्यसलाई अनुमोदन गरिने बताए ।
पहिलो सत्रमा छलफल हुने र दोस्रो सत्रमा पारित हुने उनले बताए ।








