मेलम्ची बाँध पुनर्निर्माण : खानेपानीमन्त्री चौधरीद्वारा स्थलगत निरीक्षण

news-details

खानेपानीमन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन । गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँध स्थलको स्थालगत निरीक्षण गर्न सोमबार बिहान ७ बजे नै मन्त्री चौधरी पुनर्निर्माणस्थल पुगेका हुन । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको पुनस्र्थापनाको काम गर्दै छ ।

काठमाडौँबाट बिहानै स्थलगतमार्गबाट काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्ची बजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आएको सुइँको पाएका थिए । झिसमिसे बिहानै मन्त्रीको आवागमन होला भन्ने नसोचेका मेलम्ची आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका श्रमिक र स्थानीयले सोचेका पनि थिएनन् । मन्त्री चौधरी बाँधस्थल पुग्दा पछि–पछि सुरक्षाकर्मीको सवारी र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल पुगेका थिए ।

स्थलगत निरीक्षणमा गएका मन्त्री चौधरीले ठेकेदार कम्पनीले पुनर्निर्माणकार्य सन्तोषजनक ढङ्गले गरिरहेको बताए । उनले मेलम्चीको अस्थायी संरचनाबाट पानी काठमाडौँको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य समयमै भए सबै जनशक्तिलाई पुरस्कृत गनेसमेत बताए । उनले जिम्मेवारी पूरा नगर्ने, कर्मचारी, ठेकेदार वा कामदारलाई भने दण्डित गर्ने चेतावनी पनि दिए ।

त्यसक्रममा उनले अस्थायी संरचनाबाट पानी पथान्तरण गर्ने एक नम्बर सुरुङको, वैकल्पिक डाइभर्सन, सुरुङ गेट, ९ नम्बर गेट क्षेत्रमा थुप्रिएको माटो, ढुङ्गा र गेगर हटाउने कार्यको स्थलगत निरीक्षण गरी जानकारी लिए ।

ठेकेदार कम्पनीले हाल हेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँच मार्गलाई ग्राभेल गर्ने, माटो र ढुङ्गाको थुप्रो हटाउने र पुरिएको सुरुङ खोतल्ने काम गरिरहेको छ । काठमाडौँमा अस्थायी रूपमा पानी पथान्तरण गर्ने १ नम्बर गेटको सुरुङको मुखसम्म खोतल्दा बाहिर कुनै पनि क्षति देखिएको थिएन ।

ठेकेदार कम्पनीले पुरिएका सुरुङ खोतल्दा ठुल्ठूला ढुङ्गा भेटिएको र त्यसलाई ड्रिल गर्दा र एक्साभेटरले समेत फोड्न नसक्दा समस्या भएको गुनासो गरेको थियो । ठेकेदारको समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले नेपाली सेनाको सहयोगमा ठूला ढुङ्गा विस्फोट गरी फोड्ने तयारी भएको बताए ।

कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै मन्त्री चौधरीले सम्झौताअनुसार २४ घण्टा काम गर्न, दिएको कार्ययोजनाअनुसार परिणाम देखिनेगरी काम गर्न र समस्या देखाएर काम नरोक्न निर्देशन दिनुभएको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाले बाँध स्थलमा १९ जना इन्जिनियर खटाएर काम गर्दै आएकोे छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *