पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना. ६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका– ६, का ४८ वर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ वर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ वर्षीय रामसिंह साउद, मेलौली–२, का २१ वर्षीय मनिष चन्द, कञ्चनपुरको दैजीका २१ वर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज अन्सारी, शिवनाथ गाउँपालिका–१, का २१ वर्षीय सुशिला चन्द र शिवनाथ्–६, का २९ वर्षीय जनक आउजी रहेका छन् ।

घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताए ।

बसमा ३२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक खड्काले जानकारी दिए । बस सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । बस चालक वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएन थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।