प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्वन्धीको कार्यक्रममा सहभागि हुन बेलायत प्रस्थान

news-details

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्वन्धीको कार्यक्रममा सहभागि हुन बेलायत प्रस्थान गरेका छन्। स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन देउवा नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको हो।

प्रधानमन्त्री देउवा बिहीबार विहान १० बजेर ४० मिनेटमा कतार एयरको उडानबाट बेलायत प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री भइसकेपछि देउवाको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र सचिव भरतराज पौड्याल, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन्।

वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ​

सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत बेलायत गएका छन्। त्यस्तै सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकारपनि प्रधानमन्त्रीसँगै बेलायत प्रस्थान गरेका छन्।

अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तन सम्बन्धी समिट हुने छ। युएन एफसीसीसीका सदस्य रहेका देशहरुको उक्त सम्मेलनमा सहभागिता रहनेछ। यसअघि २०१९ मा जलवायु परिवर्तन सम्बन्धी समिट भएको थियो।

यसपटक बेलायत र इटाली आयोजक बनेर सम्मेलन आयोजना गरेका छन्। उक्त सम्मेलनलाई ‘कोप २६ समिट’ नाम दिइएको छ। उक्त सम्मेलनमा शक्तिशाली राष्ट्रका नेताहरु पनि सहभागी हुनेछन्।

सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *