चीनले सहायतास्वरुप प्रदान गरेको कोभिड–१९ विरुद्धको खोप सोमबार काठमाडौं आइपुगेको छ। कोभिड–१९ विरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज खोपलगायत सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजबाट काठमाडौं ल्याइएको हो।
सहायता सामग्री लिन सो विमान आइतबार साँझ चीनको राजधानी बेइजिङ उडेको थियो। उक्त विमान सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोपलगायत अन्य सहयोग सामाग्री हस्तान्तरण गरिन् ।
सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको थियो।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।
कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवं सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ। नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ।








