संखुवासभाको चैनपुर नगरपालिकामा विशेष नापी अन्तर्गत नाप नक्सा बनाउन थालनी भएको छ । विशेष नापी कार्यालय चैनपुर र चैनपुर नगरपालिकाको समन्वयमा वडा नं ८ मा नाप नक्सा शुरु गरिएको छ ।

माओवादी द्वन्द्वमा चैनपुरमा भएका सबै कागजात जलेपछि बिशेष नापी अन्तर्गत चैनपुर नरपालिकाको ८ वडाबाट पहिलो पटक नापी शुरु गरिएको छ । चैनपुर नगरपालिका प्रमुख भरत कुमार खत्रीले विशेष नापी कार्यालयको नाप नक्साको मेसिनमा क्लिक गरेर शुक्रवार उद्घाटन गरेका छन् ।

माओवादी द्वन्दपछि कुनै नाप नक्सा नभएपछि बिशेष नापी कार्यालय नै स्थापना गरेर चैनपुरमा नापी शुरु गरिएको हो ।

चैनपुर नगरपालिकामा विशेष नापी अन्तर्गत नाप नक्सा बनाउन शुरु

नाप नक्सा उद्घाटन कार्यक्रममा नगरप्रमुख खत्रीले जग्गा नाप गर्दा सरकारी जग्गा र व्यक्तिगत जग्गा दुवै संरक्षण गर्न विशेष आग्रह गरे । उनले भने–‘ जग्गा नाप जाँच गर्दा आउने समस्यालाई सम्बन्धित वडाध्यक्षलाई जानकारी गराउन र समाधान नभएमा नगरपालिकामा समेत सूचना दिन अनुरोध गर्दछु ।’

आर्थिक बर्ष २०७७÷७८ मा चैनपुरको वडा नं ८ र ९ मा जग्गा नाप जाँच सम्पन्न हुने र अन्य वडाहरुमा समेत क्रमश सुरुवात गर्दै लैजाने नगरपालिकाले जनाएको छ । जग्गा नाप जाँचका क्रममा चैनपुर नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग सदैव गर्न तयार रहेको प्रमुख खत्रीले बताएका छन् ।

अछाम जिल्लामा बिशेष नाप नक्सा सम्पन्न गरेर चैनपुर आएर विशेष नापी कार्यालय स्थापना भइ नाप नक्साको काम सुरुवात भएको हो ।

विशेष नापी नक्सा उद्घाटन कार्यक्रममा चैनपुर नगरपालिका प्रमुख खत्री, उपप्रमुख मुना श्रेष्ठ, भूमि समस्या समाधान आयोग अध्यक्ष विरेन्द्र के.सी., राजनैतिक दल नेकपा एमालेका सूर्यबहादुर दाहाल, नेपाली काँग्रेसका राजेन्द्र राउत, नेकपा माओवादी केन्द्र नल कुमार खत्री वडाध्यक्षहरु, विशेष नापी कार्यालय प्रमुख कृष्ण प्रसाद सापकोटा, मोलपोल कार्यालय प्रमुख, स्थानीय सँघ संस्थाका प्रमुखहरुको उपस्थितीमा रहेको थियो । चैनपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रमलाई टंकबहादुर रोक्काले संचालन गरेका थिए ।