काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान अन्तर्गत खुलामञ्च अतिक्रमण गरेर बनाइएका संरचनाहरु डोजर लगाएर भत्काउन थालेको छ ।
राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको जनाएको छ ।
पछिल्लो समय हरेक दिन जसो सडकमा हुने विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरू अस्तव्यस्त बनेर त्यसको मार महानगरवासीले खेप्नु परेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको हो ।
अहिले बसपार्कबाहेकको भागलाई खुला बनाउने अभियान रहेको र विस्तारै बसपार्क पनि खुला गरिने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए । शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ। त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला।’








