प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल–नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप आज काठमाडौंमा आफ्नो शक्ति प्रर्दशन र बृहत आमसभा गर्दैछ । प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँदैछ ।
आमसभाका लागि नारायणहिटी दरबार अगाडिको सडक खालि गरिएको छ । जनसभामा तीन लाख मानिस उर्ताने बताएको ओली समुहले माघ २१ गते काठमाडौंमा बाइक र्याली निकालेको थियो ।
नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीको आयोजनामा हुन लागेको सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्लाका नेता कार्यकर्ता सहभागी हुनेछन् ।
साथै देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने नेकपाले जनाएको छ । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकाल्ने कार्यक्रम छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् ।
पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको नेकपाले जनाएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।
ओली समूहले आज हुने जनसभाको तयारी स्वरुप बिहिबार काठमाडौँमा मार्चपास गरेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लवका युवाहरुले प्रदर्शनी मार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् ।








