पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै वामदेव, ओली र दाहाल दुवैलाई निम्ता

news-details

नेकपाका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेलगत्तै पार्टी विभाजित अवस्थामा रहेका बेला नेता गौतमले एकताको अभियान सुरु गर्न लाग्नुभएको हो ।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।

सो कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैलाई निम्तो दिइएको छ । हाल एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को समूहको नेतृत्व दाहाल र माधव नेपालले गरेका छन् ।

दुवै पक्षले एकअर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौज गर्दै आएका छन् । उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ रहनुभएको छ ।

पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै नेता गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

प्रेस संयोजक सुवेदीका अनुसार एकता घोषणा कार्यक्रममा ७ सय ५१ सदस्यीय एकता केन्द्रीय अभियान समितिको घोषणा पनि गरिने छ । समितिको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा हरि पराजुली रहने छन् ।

त्यस्तै गौतमले लेखेका दुई वटा किताब जनताको बहुदलीय जनवादको तुलनात्मक अध्ययन र एक्काइसौं शताब्दीको कम्युनिष्ट आन्दोलन नामक किताबको विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *