आजदेखि देशैभर कोरोनाविरूद्धको खोप लगाइँदै, पहिलो खोप टेकुका निर्देशक राजभण्डारीले लगाउने

news-details

सरकारले आज (बुधबार)देखि कोरोनाभाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे भर्चुअलमार्फत खोपको शुभारम्भ गरेपछि सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने जनाइएको छ ।

नेपालमा पहिलो ‘कोभिशिल्ड’ खोप काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले लगाउँदै हुनुहुन्छ । डा‍ राजभण्डारीसहित शुक्रराज अस्पतालका २६३ जना डाक्टररस्वास्थ्यकर्मीले खोप लगाउने बताइएको छ ।

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । ‘कोभिशिल्ड’ खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *