नेपाल–भारत सीमा विवाद टुंग्याउन दुवै देश सहमत : परराष्ट्रमन्त्री ज्ञवाली

news-details

नेपाल र भारतबीच रहेका सीमा सम्वन्धि समस्या छिट्टै टुंग्याउन दुई देश सहमत भएका छन् । नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिइ स्वदेश शनिबार फर्कनु भएका परराष्ट्र मन्त्री ज्ञवालीले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सीमा समस्या छिट्टै समाधान गर्न दुवै देशले प्रतिबद्धता व्यक्त गरेको बताउनुभएको हो ।

भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिइ परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्कनु भएको छ । स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकाहरुसँग बैठकका निर्णयहरुको बारे जानकारी गराउनुहुँदै मन्त्री ज्ञवालीले नेपाल र भारतबीच रहेका सीमा सम्वन्धि समस्या छिट्टै टुंग्याउन दुई देश सहमत भएको जानकारी गराउनु भयो ।

बैठकमा राजनीतिक, सुरक्षा तथा सीमा, कनेक्टिभिटी पूर्वाधार एव आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति पर्यटन तथा शिक्षा लगायतका पाँच समूहमा दुईपक्षीय सहयोग प्रवर्द्धन गर्ने सहमति भएको छ । यसै गरी कोभिड भ्याक्सिनको तत्कालको आवश्यक्ता आपूर्ति गर्न दुई देश बीच छलफल भएको र भ्याक्सिन सहयोगमा नेपाल प्राथमिकतामा रहने कुरा भारतले स्पष्ट पारेको समेत मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

यसैगरी पञ्चेश्वर बहुदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न, नेपाल भारतबीच पारवहन रेल सम्वन्धि सन्धि समझौताहरु पुनरावलोकनको प्रकृया छिटो सम्पन्न गर्न र वाणिज्य सन्धिको पुनरावलोकनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा समेत सहमति जुटेको छ । आयोगको सातौं बैठक नेपालमा आयोजना गरिने भएको छ ।

संयुक्त आयोग नेपाल भारत दुईपक्षीय सम्वन्धका सम्पूर्ण विषयहरु समीक्षा गर्ने परराष्ट्रमन्त्री स्तरीय संरचना हो । यसैबीच स्वदेश फर्किनुअघि परराष्ट्रमन्त्री ज्ञवालीले भारतका रक्षा मन्त्री राजनाथ सिंहसँग भेट गर्नु भएको थियो । भेटमा नेपाल भारत बीच विविध विषयहरु लगायत अन्य समसामयिक विषयहरुमा विचारको आदान प्रदान भएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *