नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको जारी केन्द्रिय कमिटि बैठकले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

जसअन्तर्गत शुक्रबारबाटै आन्दोलनका कार्यक्रम शुरु हुने र पुस १४ गते देशव्यापी प्रर्दंशन गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने, त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने र १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला गर्ने र २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुने जनाइएको छ ।

बैठकले आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समितिसमेत बनाएको छ ।