प्रतिनिधिसभा विघटन भएपछि दुई खेमामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले आज छुट्टाछुट्टै भेला आयोजना गर्दैछन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बानेश्वरस्थित संसद भवनमा आफू निकट नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको भेला आयोजना गर्दैछन ।

नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टीको पछिल्लो आन्तरिक समस्या समाधानका विषयमा प्रधानमन्त्रीले बैठक आव्हान गरेको बताए । विहान हुने बैठकले परिस्थितिको मुल्याङ्कन गर्दै अगाडि बढ्ने रणनीति तय गर्ने उनले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजर्गाइका अनुसार नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको जमघट हुनेक्रम जारी रहेकाले १० बजेसम्म बैठक शुरुहुने बताए । आज बस्ने बैठकले पछिल्लो राजनीतिक विषयमा केन्द्रीत हुँदै छलफल गरी आवश्यक रणनीति तय गर्ने तयारी भएको नेकपाका नेताहरुले बताएका छन ।

सोही अनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको पनि आजै भेला हुँदैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा हुने भेलाले राजनीतिक संकट तथा प्रधानमन्त्रीले चालेको कदमको समिक्षा गर्दै आवश्यक रणनीति तय गर्ने बताइएको छ । एक नेताका अनुसार भेलाले आजै आवश्यक रणनीति तय गर्नेछ ।