राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर नयाँ चुनावको मिति घोषणा गरेको उल्लेख छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।’

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा