उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड कोषको खर्च विवरण सर्वाजनिक गर्ने निर्णय गरेको छ ।
समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना नियन्त्रणसम्बन्धी कार्यहरुलाई जनता समक्ष प्रकाशन गर्ने उद्देश्यले केन्द्रले खर्चको विवरण पनि सार्वजनिक गर्ने भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतिबारेमा जानकारी लिएका छन् ।
उपप्रधानमन्त्री पोखरेलले सीसीएमसीमा आवद्ध मन्त्रीहरुसँग कोरोना खोप आउनेबारे जानकारी लिएका थिए ।
‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल गर्यौं ।’
संयोजक पोखरेलले कोरोना खोपसँग सम्विन्धत विषयमा गृह, अर्थ, परराष्ट, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरुसँग सामूहिक छलफल गरेका हुन् ।
त्यस्तै, बैठकमा सीमाविन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकताअनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।
साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्वन्धमा देखापरेका केही व्यवहारिक कठिनाइका सम्वन्धमा छलफल भएको छ ।








