चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

news-details

एजेन्सी चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै छन् । छिमेकी भारतका विदेशसचिव हर्षवर्धन शृंगला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो ।

रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान १० बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री वेईलाई जंगी अड्डामा अपराह्न डेढ बजे सेनाको टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा उनीसँग औपचारिक वार्ता गर्नेछन्  ।

औपचारिक वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानसेनापति थापाले गर्नेछन् भने चिनियाँ पक्षको नेतृत्व रक्षामन्त्री वेईले गर्नेछन् । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेईबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको गत वर्ष नेपाल भ्रमणका वेला तय भएअनुसार रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा पनि छलफल हुने बताइएको छ ।

काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । त्यहाँ दिवाभोज गरेपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन् । उनी आइतबार नै काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम छ ।

परराष्ट्रले शनिबार बिहान मात्रै चिनियाँ मन्त्री वेईको नेपाल भ्रमण सार्वजनिक गरेको हो । रक्षामन्त्री वेई कोरोना महामारीपछि चीनबाट नेपाल भ्रमणमा आउने नै सबैभन्दा उच्च अधिकारी हुन् । नेपालमा चीनबाट तीन वर्षपछि रक्षामन्त्रीको भ्रमण हुन लागेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *