राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ आइतबारबाट सर्वसाधारण नागरिकले अवलोकन गर्न पाउने

news-details

प्रकृति अधिकारी/ नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट नागरिकका लागि खुला हुने भएको छ ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गर्ने नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले
जानकारी दिँएका हुन ।

कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी सुरु भएलगत्तै नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो । आइतबारबाटै सङ्ग्रहालय पुनः खुला गरिँदै छ । एउटै टिकटबाट नयाँ खुला हुने स्थान पनि अवलोकन गर्न पाइनेछ ।

तत्कालीन राजा वीरेन्द्रले आफ्नो डिजाइनमा तयार गर्न लगाएको सो भवन २०२३ सालमा निर्माण गरिएको थियो । श्रीसदनमा १२ वटा कोठा छन् ।

तीनतले सो भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा कोठा, खाना खाने कोठा (डाइनिङ हल) र विश्राम गर्ने कोठा रहेको छ । दीपेन्द्र शाह उमेर नपुगुन्जेल श्रीसदनको भुइँतलामा बस्ने गर्थे । उनी त्रिभुवन सदनमा सरेपछि सो कोठा खाली थियो । भुइँतलामा मदिरा पिउन बारको समेत व्यवस्था थियो ।

श्रीसदनको पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष हेर्न पाइन्छ । रानी ऐश्वर्यको कक्षमा क्यासेट प्लेयर, गीतका चक्का, टेलिभिजन आदि राखिएका छन् । दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजनको शयन कक्ष र तत्कालीन अधिराजकुमारी श्रुतिको शयन कक्ष छ ।

सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले सन् १९३९ मा तत्कालीन राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी पनि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए । उनका अनुसार ग्यारेजमा सो कारका साथै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले प्रयोग गर्नुभएका गाडी, दीपेन्द्र, श्रुति र नीराजन शाहले सानोमा प्रयोग गर्नुभएको खेलौना गाडी, वीरेन्द्रले प्रयोग गर्नुभएको हवाईजहाज र हेलिकप्टरसमेत प्रदर्शनीमा राखिने भएको छ । विमानहरू बदामे चौरमा राखिएका छन् ।

श्रीसदनबाट गणतन्त्र स्मारकसम्म जाँदा बीचमा पर्ने टुकुचा खोलामा पुल नभएकाले नारायणहिटी दरबार परिसरबाट बाहिरिएपछि पूर्वतर्फ रहेको प्रवेशद्वारबाट गणतन्त्र स्मारक जान सक्ने व्यवस्था गरिएको छ । उहाँले अवलोकनकर्तालाई मास्क लगाउन अनिवार्य गरिएको बताउँदै ठाउँठाउँमा सेनिटाइजरको व्यवस्था गरिने जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *