आज महाष्टमी पर्व, दुर्गाभवानीको विशेष पूजा आराधना गरी मनाइँदै

news-details

बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व । आज हिन्दुहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउँदै छन् ।

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी , महासरस्वती र महागौरीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्र सम्मत रुपमा दशैँघर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको भनाई नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमको छ ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो ।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजा राधना सहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।

आजका दिन काठमाडौँ उपत्यका भित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्ने गरिन्छ । तर कोरोना भाइरसको सङ्क्रमणका कारण यसबर्ष नगण्य मात्रामा बलिसहितको पूजा हुने देखिन्छ ।

शक्तिपिठहरुमा भक्तजनको उपस्थिति न्यून रहेको देखिनुले पनि यो कुरा पुष्टि हुन्छ ।

उपत्यका बाहिरका खासगरी गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकका चण्डेश्वरी, र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायत शक्तिपीठमा पनि बलिसहित पूजाराधना गर्ने प्रचलन छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएकामा यस वर्ष कोरोनाका कारण स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाका कार्यालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *