देशबासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : ‘निःशुल्क उपचारको व्यवस्था जारी छ’

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बडा दशैंको उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्दै कोरोना संक्रमितको निःशुल्क उपचार जारी रहेको बताएका  छन ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नेपाल टेलिभिजनबाट देशबासीका नाममा सम्बोधन गर्दै सरकार नागरिकको दायित्वबाट पछाडि नहट्ने प्रतिबद्धता व्यक्त गरेका हुन । ‘कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन ।’

प्रधानमन्त्रीले कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताए । उनले पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहने उल्लेख गरे ।

गत बर्ष चैत ११ गते पहिलोचोटी लकडाउन गरेदेखि हालसम्मै जनतालाई भयभित र असहाय महसुस गराउने प्रकृतिका थुप्रैं अफवाहहरु चलेको प्रधानमन्त्रीको भनाइ थियो । ‘सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ,’ उनले भने, ‘तर आम देशबासीको सहयोगका कारण समयक्रममा त्यस्ता तुवाँलोका तहहरु क्रमशः फाटेका छन् । जनताको यही सकारात्मक सहयोगका कारण यस महामारीमा मृत्युदर अझै ०.६ प्रतिशतभन्दा माथि जान सकेको छैन । निको हुने दर क्रमशः बढ्दै छ ।’

महामारी र महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षा गरेको बताउँदै उनले भने, ‘हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्ष मात्र नभई हामी नेपालीहरुको परम्परा नै रहेको छ । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ । सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ ।’

प्रधानमन्त्रीले मृतकहरुको शव व्यवस्थापनको सन्र्दभमा पनि केही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी रहेको बताए । उनले निजी अस्पतालमा अहिले पनि कतिपयले स्वेच्छाले आफैं, आफ्नै खर्चमा उपचार गराइरहेको बताउँदै राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरुको यो कार्य आफैंमा प्रसंशनीय रहेको उल्लेख गरे ।

महामारी विरुद्धको हाम्रो लडाईं राजनीति वा अन्य स्वार्थहरुको टकरावसँग सम्बन्धित हुन नहुनेमा उनको जोड थियो ।

प्रधानमन्त्रीले नागरिकले सबै प्रकारका चिकित्सा प्रणालीहरु, तद्अन्तर्गतका विधि र औषधिहरु, तत्सम्बन्धी विज्ञ र चिकित्सकहरुको परामर्शमा मात्रै नियमको पालना र औषधिहरु सेवन गर्नु उचित हुने बताउँदै मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाईमा बढी ध्यान दिने, ताजा खानेकुरा खाने, तातोपानी पिउने र सम्बन्धित विधाका चिकित्सकको परामर्शमा औषधीय गुणले युक्त रहेका घरेलु औषधीय तत्वहरुको प्रयोग गर्नेजस्ता कुरामा सक्दो ध्यान दिनु जरुरी रहेकोमा जोड दिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *