सरकारले एकै पटक ६ सय ४९अस्पतालको शिलान्यास गर्दै

news-details

सरकारले देशभरका ६ सय ४९ पालिकामा एकैपटक अस्पताल शिलान्यास गर्ने भएको छ । मंसिर १५ गते एकैपटक यति धेरै अस्पतालको शिलान्यास हुन लागेको हो ।

आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल भवनको शिलान्यास गर्न लागेको हो ।

अस्पताल निर्माणका लागि ६ सय ४९ वटै पालिकामा बजेट उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ। ७ सय ५३ मध्ये बाँकी १ सय ४ वटा पालिकामा यसअघि नै आधारभूत अस्पतालको संरचना रहेको छ। अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिजाइन तयार गरी सबै पालिकामा उपलब्ध गराउने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको आइतबारको बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, भेन्टिलेटर लगायतका उपकरण तत्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजना स्वास्थ्य मन्त्रालयले अगाडि बढाउने र कार्ययोजना कार्यान्वयनको आर्थिक व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने सहमति भएको पनि अर्थ मन्त्रालयका प्रवक्ता दंगालले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *