एक सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सले नेपाल सरकारले हवाई यात्रुका लागि बनाइएको प्रोटोकल मिचेको छ ।

एसियानाले पीसीआर रिपोर्ट नगरेका तथा ७२ घण्टा नाघेका रिपोर्ट लिएर त्रिभुवन विमानस्थलमा आर्लिएपछि समस्या उत्पन्न भएको थियो । शनिबार कोरियाबाट चार्टड फ्लाइटमा आएको एयरलायन्सले ११ यात्रुहरुको पीसीआर नभएपनि होटल क्वारेन्टाइनमा नराखी एयरपोर्टबाट नै छोड्न विमानस्थल र अध्यागमन प्रशासनलाई दबाब दिए पछि माहोल निकै तातेको थियो ।

एसियाना एयरलायन्सको जीएसए गण्डकी ट्राभल्स हो भने कोरियाबाट एनआरएन कोरियाका संस्थापक अध्यक्ष केपी सिटौलाको नेपाल टुर कम्पनीले संयोजक गरेको थियो । नेपालको हवाई यात्रु प्रोटोकल मिचेकोमा एसियाना एयरलाइन्स र सम्बन्धित ट्राभल्स एजेन्सीलाई कारवाही गर्ने सहमति भएपछि विमानस्थलमा रोकिएका सबै यात्रुलाई होल्डिङ सेन्टरमा लगिएको विमानस्थलले जानकारी दिएको छ ।

यता ट्राभल्सका प्रबन्ध निर्देशक रामकुमार कोनेले कोरियाबाट चार्टर्ड फ्लाइट आएपनि मान्छे नआएको बताएर संचार जगतलाई ढाँटेका थिए । उनी यसरी झुटो बोलिरहँदा विमानस्थलमा एक सय ६० जना घर जान पाउनु पर्ने भन्दै होहल्ला गरिरहेका थिए ।

विमानस्थल प्रशासनले नै कोरियाबाट एसियाना एयलायन्सले १६० जना यात्रुहरु बोकेर आएको र ११ जना पीसीआर नगरेको पुष्टि गरिसकेको छ ।

एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ्ग फ्रिडम फ्लाइटले गरेको थियो । फ्रिडम फ्लाइट, एयरलायन्स र गण्डकी ट्राभलले यात्रुहरुलाई क्वारेन्टाइनमा नराखी सिधैं छोड्नुपर्ने दबाब दिएको विमानस्थल स्रोतले बतायो।

सीसीएमसीका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पीसीआर पनि नगरि यात्रु ल्याउने र होटलमा पनि राख्न नखोज्ने एयरलायन्स र ट्राभललाई कारवाही गर्ने जानकारी दिए ।

‘सबै यात्रुलाई क्वारेन्टाइनमा राख्नुपर्छ, सरकारले नै अनिवार्य पीसीआर भनेपछि नगरी लापरवाही गर्नेलाई कारवाही हुन्छ,’ उनले भने ।