सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीमा आठ दिनअघि गएको पहिरोमा पुरिएर ज्यान जानेको संख्या ३२ पुगेको छ ।
पहिरोमा परेर हराइरहेका मध्ये आज दुई जनाको शव भेटिएपछि मृतकहरुको सङ्ख्या ३२ पुगेको हो ।
आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।
गाउँमाथि माथिबाट झरेको सिङ्गो पहिरोमा परि ३७ वटा घर बगाउनु साथै ३९ जनालाई बेपत्ता बनाएको थियो ।
उता, अछामको रामारोसन गाउँपालिकामा रहेको कैलाश खोलामा तीन दिनअघि आएको बाढीमा बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बाढीमा बगेर ६ जनाको मृत्यु भएको थियो ।
बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली निरन्तर खटिएपनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
सुतिरहेको अवस्थामा अचानक आएको बाढीले सैनीबजारमा रहेका घर, पसलसहित उनीहरुलाई बगाएको थियो ।
यसैबीच, गृहमन्त्री रामबहादुर थापासहितको टोलीले बाढी प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरी पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।








