सिन्धुपाल्चोकको जुगल पहिरो अपडेट : १३ घर पुरिए पाँच परिवार सम्पर्कविहीन
- साउन ३०, २०७७
- 1
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोले १३ वटा घर पुरिदा पाँच परिवार सम्पर्कविहीन भएका छन ।
आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन् । ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिलेसम्म २१ जना पुरिए भन्ने आएको छ तर घटनास्थल नपुगि भन्न सकिने अवस्था छैन् ।’
उनले खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको बताए । अहिलेसम्म घटनास्थलमा सेना र प्रहरी पुगेको छैन । स्थानीयले उद्धारको प्रयास गरिरहेका छन् । स्थानीयका अनुसार पाँच जनाको उद्धार गरिएको छ।
वडाअध्यक्ष लामाले सेना र जनपद प्रहरी घटनास्थलतर्फ हिँड्दै गइरहेको जानकारी दिए । लिदीमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए । ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको अध्यक्ष लामाले बताए।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ लागेका र उद्धारका लागी अरु तीनवटा हेलिकप्टरबाट सुरक्षाकर्मीलाई त्यसतर्फ पठाउन लागिएको बताइएको छ ।












