कोरोनाबाट पर्सामा २ जनाको मृत्यु, सप्तरीमा मृत्यु भएका तीन जनामा संक्रमणको आशंका

news-details

पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको हो ।

४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए । उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए ।

साउन १८ गते पीसीआर गराएका उनको १९ गते राति रिपोर्ट पोजेटिभ आएको थियो । साउन २० गते स्वास्थ्यमा समस्या भएपछि अस्थायी कोभिड अस्पतल वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका लागि राति साढे १० बजे भर्ना गरिएकोमा बुधबार विहान उनको निधन भएको हो ।

यसअघि पर्सामा साउन १९ गते सोमबार मृत्यु भएको युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

सप्तरीमा मृत्यु भएका तीन जनामा सङ्क्रमणको आशंका

सप्तरीमा उपचारको क्रममा मृत्यु भएका तीन जना पुरुषमा कोरोना सङ्क्रमणको आशङ्का गरिएको छ । कोरोनाको आशङ्का गरिएका मृतकहरूको पीसीआर परीक्षणको लागि स्वाब लिने कार्य भइरहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

डेढ महिनाअघि वैदेशिक रोजगारबाट घर आइपुगेका जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर ५ गढियाका ४५ वर्षीय पुरुषमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै जाँदा थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरान पुगेपछि उनको मृत्यु भएको वडा अध्यक्ष जगदीश दासले जानकारी दिए । उनको शव परिवारजनले घरमा ल्याएर अन्तिम संस्कार गर्न लाग्दा पीसीआर परीक्षणको लागि स्वाब लिन रोकिएको बताइएको छ ।

त्यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचाररत डाक्नेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको छ । गत १५ गते अस्पताल भर्ना भएका दुवै जनाको गएराति मृत्यु भएको बताइएको छ । दुवै जनामा शङ्कास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोकेर स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *