जिल्लाभित्र सीमित रहनेगरी सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय
- असार २५, २०७७
- 0
सरकारले जिल्लाभित्र सीमित रहनेगरी सुरक्षाका मापदण्ड पूरा गरेर सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर तथा उपत्यका बाहिर जिल्ला भित्र मात्र चलाउन पाइने गरी सवारीसाधन चल्न दिने निर्णय भएको बताएका छन् ।
यसरी चल्ने सवारी साधनले सिट क्षमता अनुसार ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने र जस अनुसार बसको एक पंक्तिको एउटा सिटमा एकजना मात्रै यात्रु राख्नुपर्ने, चालक-सहचालक तथा यात्रुले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्ने, सवारीसाधनमा अनिवार्य सेनिटाइजर राख्नुपर्ने र सवारीसाधन चलाइसकेपछि हरेक दिन निसंक्रमणको विधि अपनाउनुपर्ने संचारमन्त्री खतिवडाले बताए ।
यसरी सवारीसाधनमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । यस्तै सरकारले ट्याक्सी पनि खुलाउने निर्णय गरेको छ । ट्याक्सी सञ्चालन गर्दा पनि स्वास्थ्य सुरक्षाका सबै विधि अपनाउनुपर्ने र बढीमा २ जना यात्रु मात्र बोक्न पाउने सरकारले निर्णय लिएको छ।