नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजजिक सवारी बन्द गर्दा व्यवसायीहरुका पीडा र समस्या दिनदिनै बढेको जनाउँदै गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले बुधबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
कोरोना भाइरसका कारण चैत्र महिनादेखि सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु ओसारिरहेको र यात्रुबाट पनि ठूलो दरको भाडा असुल भइरहेकोमा आपत्ती जनाएको छ ।
गृहसचिव न्यौपानेलाई बुझाइएको पत्रमा सार्वजनिक सवारी बन्द गरेर बस्नुपर्दा व्यवसायीलाई ठूलो मार परिरहेको भन्दै यही बेलामा निजी सवारीले भाडाका यात्रु बोक्दा संक्रमण नियन्त्रणका लागि व्यवसायीले गरेको त्याग खेर जाने उल्लेख छ ।
सरकारले दिएको निर्देशनअनुसार यातायात व्यवसायीहरु अनुशासित भएर बसेको अवस्थामा निजी सवारीहरुले यसैलाई मौका बनाएर कमाउधन्दा चलाइरहँदा सरकार मुकदर्शक बनेको आरोप महासंघका अध्यक्ष कर्माचार्यले लगाएका छन् ।








