विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ । यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले गरेको अध्ययनले हावाबाट कोरोना सर्ने पुष्टि गरेको थियो ।

वैज्ञानिकहरूले कोरोनाबारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई पत्र नै लेखेका थिए । तर, वैज्ञानिकहरूले दिएको प्रमाण पर्याप्त नभएको जनाउँदै डब्लुएचओले सजगता मापदण्ड परिवर्तन गर्न मानेको थिएन ।

महामारीसँग जुध्न डब्लुएचओले गठन गरेको प्राविधिक समूहकी नेतृत्वकर्ता डा मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले अध्ययनमै रहेपनि केहि प्रमाण भेटिएको बताएकी छन् ।

डब्लुएचओले बढी भीडभाड हुने र कम हावा हुने बन्द कोठामा हावाबाटै कोरोना भाइरस फैलिने आशंका अस्विकार गर्न नसकिने जनाएको छ । साथै, यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको डब्लुएचओले जनाएको छ।

यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो । यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबी गरेका थिए ।