बझाङमा पहिरो गाउँ पस्दा चार परिवारका सात जना बेपत्ता, १८ घर बगे

news-details

शैलेन्द्र रोकाया / बझाङको केदारस्यूँ गाउँपालिका ८, मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका छन् भने १८ घर पहिरोमा बगेका छन् । गएराति अविरल वर्षासँगै गाउँको माथिबाट पहिरो झरेपछि घटना भएको हो ।

राति एक बजेतिर माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरूको भागाभाग भएको थियो । स्थानीय सुरेश जेठाराका अनुसार पहिरोमा परेर चार परिवारका सात जना बेपत्ता छन् ।

उनका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा ४४ वर्षकी रामदेवी जेठारा, उनकी १५ वर्षीया छोरी शान्ति जेठारा, ७ वर्षीया छोरी अस्मिता जेठारा र ११ वर्षीया छोरा प्रयाग जेठारा रहेका छन् भने नवराज जेठाराकी ११ वर्षीया छोरी सन्तुकुमारी जेठारा, प्रेम जेठाराका २० वर्षीय छोरा गिरिजा जेठारा र ८० वर्षीय दले जेठारा रहेका छन ।

अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन । गाउँको वरिपरि दुईवटा खोलामा पानी बढी भएकाले प्रहरीसमेत जान सकेको छैन । प्रहरी नायब उपरीक्षक गणेश बमसहित सदरमुकाम चैनपुरबाट सशस्त्र प्रहरीको टोलीसमेत त्यस क्षेत्रमा गएको छ ।

पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैंसी गोरुहरूलगायत १८ परिवारको धनसम्पत्ति सबै बगाएर लगेको स्थानीय नरेश जेठाराले जानकारी दिए । क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *