सवारी पासबिना महगो भाडा असुल्दै उपत्यकामा यात्रु ओसार्ने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सवारी पासबिना सार्वजनिक यातायातका सवारी सञ्चालन गरी चर्को भाडा असुलेको गुनासो आएकाले आवश्यक कानुनी कारबाहीका लागि चालकलाई पक्राउ गर्न थालिएको बताए ।

उद्धारका नाममा आफूखुसी लामो दूरीको सवारी साधन सञ्चालन गर्ने, सवारी पास नलिने र तोकिएको भन्दा बढी भाडा लिई यात्रु ओसारपसार गरेको आरोप प्रहरीको छ ।

काठमाडौँ उपत्यका प्रवेश गर्न तथा बाहिर जान सम्बन्धित निकायबाट जारी सवारी पास र बस तथा कारमा सवार व्यक्तिहरूको ‘पीसीआर’ परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।