संखुवासभा जिल्ला मकालुका विश्व किर्तिमानधारी पर्वतारोही मिङमा शेर्पालगायत पर्यटन व्यवसाय र पर्वतारोहणमा लागेका सात जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
संखुवासभा काठमाडौ सम्पर्क समितिद्धारा आयोजित नेपाली कांग्रेस प्रवेश कार्यक्रममा नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अब युवाहरुको पहिलो छनोटको पार्टी कांग्रेस हुने र पार्टी प्रवेशको श्रृंखला निरन्तर रहने बताए ।
महामन्त्री कोइरालाले आगामी चुनावमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दावी गर्दै लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म नेपाली कांग्रेसले विकासमा अग्रणी भुमिका निर्वाह गरेको बताए । उनले देश समृद्ध बनाउन कांग्रेस नै चाहिने धारणा राखेका हुन ।

कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महतले नेकपाको गलत रवैयाका कारण देश पछि परेको धारणा राखेका थिए भने केन्द्रिय सदस्य मिनेन्द्र रिजालले सरकार बेसार र तातो पानिको कुरामा अल्झिएको बताउदै विकास र समृद्धीबाट विमुख हुनपुगेको दावी गरे ।
यस्तै कार्यक्रममा केन्द्रिय सदस्य गगन थापाले कोरोनाको महामारीबाट बच्न गर्नुपर्ने तयारीमा सरकार चुकेको आरोप लगाउँदै सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त हुदा कोरोना नियन्त्रणमा उल्लेख्य भुमिका निर्वाह गर्न नसकेको बताए ।
पार्टी प्रवेश गरेका पर्वतारोही मिङमा शेर्पाले कांग्रेसले मात्रै लोकतन्त्रको संरक्षण र देश विकास गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, पूर्वराज्यमन्त्रीहरु दिपक खड्का, तारामान गुरुङ, पूर्वसांसदहरु टंक राइ, पासाङ शेर्पा, बिना पौडेल लगायतका नेताहरुले पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।








