चन्द्रप्रकाश शर्मा / पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । शनिबार रातीको पहिरोमा पुरिएका नौं जना मध्य राती नै तीन जनाको र आइतबार बिहान दुई जनाको शव भेटिएको थियो ।
स्थानीय तुलबहादुर थापा र कमला बिकको घर पहिरोमा पुरिदा नौं जना वेपत्ता भएका थिए । पहिरोमा पुरिएका तुलबहादुर थापाको घरमा पुरिएका थापा सहित नीलकुमारी थापा, दीपा थापा र विविशा थापा र कमला विकको शव भेटिएको प्रहरीले जनाएको छ ।
कुश्मा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार बिहानसम्म पाँच जनाको शव भेटिएको र थापाको घरका दुई जना र बिकको घरका दुई जना अहिलेपनि वेपत्ता रहेका छन् । रातीपनि भिषण वर्षा भएको र अध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले राती दुई बजेसम्म खोजी गर्दा तीन जनाको र बिहान थप दुई जनाको शव भेटिएको र अन्यको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको जानकारी दिए । स्थानीय सागर गिरीकाअनुसार पहिरो धेरै माथिको जङ्गलबाट खसेको थियो । घरदेखि माथि ठुला ठूला बारी तथा समथर खरवारी रहेपनि पाहिरोले सबै बगाएको छ ।
‘पहिरो नै बगाउँने जस्तो भूगोल छैन, पहिरो सुरु भएको माथिल्लो भागमा पनि ठूला ठूला बारी छन्, तलपनि बारी तथा समथर खरवारी छ तर ति सबै बगाएर लगेको छ’ गिरीले भने ।








