नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८ कोरोना भाइरस सङ्क्रमित भेटिएका छन । नेपालमा एकैदिन आज अहिलेसम्मकै बढी संक्रमित भेटिएका हुन ।

योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या ५ हजार ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यस्तै आज थप १६ डिस्चार्ज भएका र योसँगै कुल डिस्चार्ज हुनेको ८७७ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यस्तै आज अर्घाखाँचीका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

अर्घाखाँची मालारानीका ५७ वर्षीय ती पुरुषमा एक्कासी स्वासप्रश्वासको समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराउन लगिएकोमा अस्पतालबाट घर फर्किने क्रममा उनको मृत्यु भएको  थियो । उनको मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए ।

मृतक पुरुष भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।