संखुवासभाका स्थानीय सरकारहरुले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि आफ्नो आन्तरिक स्रोतलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने भएका छन् । अहिले सम्म जिल्लामा कोरोनाको संक्रमणको नियन्त्रणको प्रयास भइरहेको उल्लेख गर्दै उनीहरुले आउने दिनमा जिल्लामा कोरोना फैलिन नदिने प्रतिबद्धता जनाएका छन् ।

‘संखुवा सभा– काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाजं) ले मंगलबार आयोजना गरेको ‘कोरोना कहरः संखुवासभाका स्थानीय तहको भूमिका र योजना’ बिषयक वेबिनारमा बोल्दै स्थानीय तहका प्रमुखहरुले भने–‘जिल्लामा कोरोना फैलिन दिन्नौ ।’ उनीहरुले स्थानीय सरकारको आउदो बजेट पनि कोरोना केन्द्रित बनाउने जानकारी दिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले कोरोना नियन्त्रणका लागि जिल्लामा भएका प्रयासबारे जानकारी दिएका थिए । उनले जिल्लामा नै कोरोनाको पिसिआर परीक्षणको व्यवस्था मिलाउने पहल भइरहेको जनाकारी दिए । उनले माथिल्लो राजनीतिक नेतृत्वले त्यसका लागि पहल गरिरहेको उल्लेख गर्दै यदी त्यो परीक्षण गर्ने व्यवस्था मिले जिल्ला समन्वय समितिले आफनो भवनको हल परीक्षण स्थलको रुपमा उपलब्ध गराउने बताए ।

जिल्लामा सञ्चालित अरुण तेस्रो जलविद्युत् आयोजनाले जिल्ला अस्पताललाई ९० लाख बरारबारको भेन्टिलेटर सहितको स्वास्थ्य सहयोग भर्खरै गरेको र पिसिआर मेसिन पनि दिने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले स्थानीय तहको सरकारको रुपमा अहिले आफूहरुले उपस्थिति जनाइरहेको बताए । विदेशमा रहेकाहरुलाई आफ्नो भूमिमा ल्याउनका लािग प्रदेश र केन्द्र सरकारले काम गर्ने तर यो व्यवस्थापनमा केही समस्या भने रहेको उनले बताए । उनले कोरोनाको आरडिटी परीक्षण भरपर्दो नभएकाले प्रत्येक जिल्लामा पिसिआर परीक्षणको व्यवस्था हुनुपर्ने बताए । ‘पिसिआरको टेस्ट प्रत्येक जिल्लामा हुनुपर्छ । अनिमात्र ठूलो सेवा दिन सकेको हुन्छ’ उनले भने । उनले चैनपुर नगरपालिकाले आउदो बर्षका लागि कोरोना प्राथमिकताको बजेट ल्याउने जानकारी दिए । ‘बजेटमा कृषिलाई प्राथमिकता राखेर जानुपर्छ’ उनले भने,‘ राहतको बदलामा रोजगारी दिने कुरामा हामी जान्छौ ।’

मादी नगरपालिकाका मेयर विदुर लिंथेपले सचेतनाका काम व्यापक रुपमा गरेको बताए । बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेको उनले जानकारी दिए । नगरपालिकामा कोरोनाबाट संक्रमित अहिलेसम्म नदेखिएको उल्लेख गर्दै उनले कोरोनाको उपचार अस्पताल र घरमा पनि एउटै खालको हुने भएकाले मासिहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी नियम बनाउने जानकारी दिए । उनले यो विपत्तिले विकास गर्ने र आफ्ना सरसफाईको बानी व्योहारामा पनि परिवर्तन ल्याएकाले यसलाई सकारात्मक रुपमा हेर्नुपर्ने बताए ।

धर्मदेवि नगरपालिकाका मेयर रमेशकुमार जिमीले कोरोना संकटको व्यवस्थापनका लागि नगरपालिकाले सक्दो काम गरिरहेको बताए । उनले अहिले नगरभित्र १६ जना क्वारेन्टाइनमा रहेको जानकारी दिदै जिल्ला छिर्नेलाई चारवटा नगरपालिकाले व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाएको जानकारी दिए ।

उनले धेरै मानिसहर अब बाहिरबाट आउने भएकाले उनीहरुलाई लक्षित गरेर कृषिमा आधारित बजेट ल्याउने जानकारी दिए ।
सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर राईंले कोरोना व्यवस्थापनका लागि धेरै निर्णय गरेर कार्यान्वयन गरिरहेको जानकारी दिए । गाउँपालिकामा ५ वटा हेल्थ डेक्स राखिएको बताए । ‘गाउमा कोरोना भाइरस फैलन नदिने अनिवार्य सोधीखोजी गरेर अनिवार्य क्वारेन्टाइनमा राख्ने व्वस्था गरेका छौ’ उनले भने,‘सबै वडामा सक्रिय रुपमा काम गरेका छौ । विभिन्न ठाउँउमा फसेकाहरुलाई स्थानीय सरकारले समन्वय गरेर गाउपालिकामा फर्काउने व्यवस्थामा पनि जुटिरहेको उनले जानकारी दिए ।

संखुवासभाका स्थानीय तहको प्रतिवद्धता –‘जिल्लामा कोरोना फैलिन दिन्नौ’ (भिडियोसहित)

कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवा सभा शाखाका अध्यक्ष इन्द्र गिरीले दैनिक ज्यालादारी कामबाट बाँच्नेहरु समस्यामा रहेकोले यसतर्फ सबै तहका सरकारको ध्यान जानुपर्ने बताए । त्यस्तै राज्यले दिएको सहयोगको पनि सही सदूपयोग हुनुपर्ने उनको धारणा थियो ।

झण्डै दुई घण्टा सम्म चलेको वेबिनारमा स्वदेश र विदेशमा रहेका जिल्लाका विभिन्न व्यक्तिहरु, पत्रकारहरुको सहभागिता थियो । स्थानीय तहका प्रमुखहरुसंग पत्रकारहरुले जिज्ञाशा राखेका थिए । यसअघि जिल्लाका विभिन्न क्षेत्रका व्यक्ति र सांसदहरुसंग एसकाजले वेबिनार गरेको थियो । वेबिनारको यो दोस्रो श्रृंखला हो ।

यही बिषयमा केन्द्रित रहेर अरु केही श्रृंखलाको छलफल चलाईने एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए । उनका अनुसार कोरोना कारण जिल्लामा सिर्जित समस्याहरुप्रति जिम्मेवार निकायको ध्यानाकर्षण र उनीहरुको कामलाई जवाफदेही बनाउन एसकाजले वेविनार गरेको हो ।

हेर्नुहोस् भिडियो